काठमाडौं – प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीले पार्टीबाट निस्काशित नेकपा एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल– माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आज एक बजेको लागि आह्वान गरिएको छ । केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै खनाल–नेपाल पक्षले आज शनिबारको लागि स्थायी कमिटीको बैठक बोलाएको हो ।

आज बोलाइएको बैठकको मुख्य एजेण्डा भनेको आगामी दिनमा नयाँ पार्टी खोलेर अगाडी बढ्ने कि ओली नेतृत्वकै एमाले भित्रै अन्तर सङघर्ष चर्काएर अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । नयाँ पार्टी गठन गर्ने दिशामा गए नेकपा माओवादी केन्द्रसहितका अन्य कम्युनिस्ट घटकहरुसँग वृहत्त कम्युनिस्ट एकता निर्माण गरेर जाने सोचमा खनाल–नेपाल पक्ष रहेको छ ।

अस्ति र हिजो (बिहीबार र शुक्रबार) गरी तगातार दुई दिनसम्म चलेको खनाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली समूहसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो । तर ओली समूहसँगको वार्ताबाट पार्टी एकढिक्का नहुने अवस्था नरहेको महशुस भैरहेकोले अब छिट्टै नयाँ पार्टी खोलेर अगाडि बढ्ने सोचमा खनाल–नेपाल समूह देखिन्छ । यदी नयाँ पार्टी खोलेर जाने हो भने तत्काल माओवादी केन्द्रसँग एकताको कुरा अगाडि बढाउने अन्य कम्युनिष्ट घटकहरुसँग पनि एकताको पहल गर्ने पक्षमा यो समूह रहेको बुझिन्छ ।

यता ओलीले खनाल–नेपाल समूहका केही नेताहरुलाई विभिन्न आश्वासन र प्रलोभन देखाएर पार्टी एकताको प्रयास गरिनै रहेका छन् । दुवै समूहको दोस्रो तहका नेताहरुबीच अनौपचारिक वार्ता भैरहेको छ । पूर्ववत एमालेलाई एकढिक्का बनाउने हो भने २०७५ जेठ २ गतेकोसम्मको अवस्थामा ओली समूह पुग्नु पर्ने र प्रतिनिधिसभा विघटनलाई फिर्ता गर्नुपर्ने शर्त खनाल–नेपाल समूहको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली आफु २०७५ जेठ २ को अवस्थामा फर्किन सक्ने सन्देश दोस्रो तहका नेतामार्फत् सङ्केत गरिसकेका छन् । तर खनाल–नेपाल पक्षका नेता युवराज ज्ञवालीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन् । यसले अब एमाले एक ढिक्का हुने अवस्था देखिंदैन । आज हुने खनाल–नेपाल समूहको स्थायी कमिटीको बैठक यही सेरोफेरोमा छलफल गर्नेगरी बस्न लागेका एक नेताले नवसञ्चार अनलाइनलाई बनाएका छन् ।