काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले भित्रको रडाको साम्य भएको छैन । न फुट्न सक्छन् न जुट्न नै । पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको दिमाग चक्मकाउने गरी नाटक मञ्चन भएरहेको छ एमाले भित्रको विवाद । बैठक बहिस्कार, कारबारी, दुवैसमूहको अलग अलग बैठक । एकले अर्कोलाई अवैधानिक आरोप लगाएर वितेको छ एमाले भित्रको राजनीति ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले वरिष्ठ नेता खनाल–नेपाललाई पार्टीबाट निस्कासन गरिसक्दा पनि नयाँ पार्टी खोल्न नसकेका खनाल–नेपाल समूहले आज एमाले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । उक्त बैठकप्रति लक्षित गर्दै ओली पक्षले पार्टीले कारवाही गरेको पक्षले बोलाएको बैठक अवैधानिक र अनधिकृत भनेको छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुने केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् ।
ओली पक्षले पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल सहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाट समेत निस्काशित गरिसकेको छ । यो पक्षका घनश्याम भूषाल, सुरेन्द्र पाण्डेलगायत १२ जना नेताहरुलाई कारवाही गर्ने एजेण्डा अहिले थाँती राखेको छ । ओली र खनाल–नेपाल पक्ष एकले अर्कोलाई गलाएर पार्टीमा आफ्नो प्रभुत्व स्थापित गराउन चाहिरहका छन् । ओली पक्षले पनि खनाल–नेपाललाई पार्टीबाट अलग्याएर पार्टी चल्न नसक्ने देखिसकेको छ भने खनाल–नेपाल पक्षको पनि बुझाइ त्यही छ ।
प्रधानमन्त्री ओलीले तात्कालीन माओवादीसँगको एकता पूर्वको पार्टीको पोर्टफोलियोमा फकिर्न चाहेका छन् । खनाल–नेपाल पक्षको पहिलेको माग नै २०७५ जेठ २ मा फर्कनु पर्ने अडामा थियो । त्यो माग पूरा गर्न ओली तयार देखिएका छन् । तर अहिले खनाल–नेपाल पक्ष प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको मुद्दा फिर्ता लिए पार्टी एकता हुने भनेका छन् । यसरी हेर्दा एमालेका दुवैपक्षबीच एकता हुने सम्भावना न्यून देखिएता पनि दोस्रो तहका नेताहरु पार्टी मिलाउन शितलनिवास हुँदै बालुवाटार र कोटेश्वर धाइरहेका छन् । एकताको प्रयासमा राष्ट्रपति विद्यादेवी भण्डारी आफै जुटेकी छन् ।
यसै सन्दर्भलाई लिएर आज ओली पक्षले ४ बजेको लागि स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच शितलनिवासमा करिव २ घण्टा भेटघाट र छलफल भएको थियो । आज बस्ने स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि थप लचिलो भएर जाने निर्णय गर्नसक्ने बनाइएको छ ।