काठमाण्डौं – पार्टी फुटको घोषणा हुनमात्र बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई कारबाही गरिएको सम्बन्धमा प्रक्रिया पु¥याउन निर्वाचन आयोगले आग्रह गरेको छ ।
जसपाका दुवै अध्यक्षले एक अर्कालाई पार्टीले कारवाही गरेको पत्र हिजो निर्वाचन आयोगमा पठाएका थिए । उपेन्द्र यादवले महन्थ ठाकुरलगायतका नेताहरुलाई कारवाही गरिएको पत्र निर्वाचन आयोगमा पुर्याएको केही समय पछि महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीले कारवाही गरेको पत्र पठाएका थिए ।
निर्वाचन आयोगले आज कारबाही गर्नुपर्ने आधार र कारबाही गर्नका लागि चाहिने पदाधिकारी तथा केन्द्रीय सदस्यको हस्ताक्षर तथा ढाँचा नमिलेको भन्दै पुष्टि हुने कागजात पेश गर्न पनि पत्राचार गरेको छ । दुवै पक्षले निर्वाचन आयोगलाई एक–अर्कालाई कारबाही गरेको भनि पत्राचार गरेको भए पनि दुवै पक्षबाट कारबाही पुष्टि हुने आधिकारिक कागजात र निर्णयको प्रतिलिपि नपठाएको आयोगले जनाएको छ ।
दुवै पक्ष मिलेर गतवर्ष बैशाखमा पार्टी एकता गरेपछि बनेको जनता समाजवादी पार्टीका एक अध्यक्ष महन्थ ओली पक्षमा र अर्का अध्यक्ष विपक्षमा उभिए उत्रिएका छन् । यी दुई समुहबीच दुई महिनादेखि एकले ओली सरकारको पक्ष र विपक्षमा विभाजित हुँदै आएको थियो । अर्को पक्षलाई स्पष्टीकरण सोध्नेदेखि पार्टीबाट निष्काशन गर्ने कार्य भै रहेका छन् । सरकारले गरेको प्रतिनिधि सभा विघटनको विषयलाई लिएर जसपा फुट नजिक पुगेको हो । जसपाको कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव पक्षको बहुमत रहेको छ । दुवै पक्षले एक–अर्कालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरिसकेका छन् ।