काठमाडौं– मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सरकारले ल्याएको बजेटप्रति तिब्र असन्तुष्टि जनाएको छ । नेकपा क्रान्तिकारी माओवादीले आज एक विज्ञप्ती जारी गर्दै उक्त बजेटप्रति चर्को विरोध जनाएकोे हो ।
ओली सरकारले आर्थिक वर्ष २०७८।०७९ को लागि ल्याएको बजेटले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको थप दलाली गरेको आरोप लगाएको छ । उक्त पार्टीले आज जारी विज्ञप्तिमा ‘बजेटमा देशको पर्यावरण तथा राष्ट्रिय अस्मिताका विरुद्ध खानीढुङ्गा, गिट्टी, बालुवा भारत तर्फ निकासी र विद्युतीय प्रसारण लाइनमा एमसीसी परियोजना कार्यान्वयनमा जोड दिएर क्रमशः भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको थप दलाली गरिएको छ’, वैद्यले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको, ‘ यस बजेटले एकातिर उच्च वर्गका लागि विभिन्न करहरूमा विशेष छुटको व्यवस्था गरेको छ भने अर्कोतिर मजदुर वर्गलाई आवश्यक वेतन, सुविधा, राहत प्रदान गर्ने कामबाट पुरै पछि हटेको छ । समग्रमा यो बजेट दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय हक हितको संरक्षण, वैेदेशिक प्रतिक्रियावाद परस्तता, परम्परावाद, सस्तो लोकप्रियतावादमा आधारित र जनहित विपरीत, देशको स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र विरोधी तथा चुनावमुखी रहेको छ । हाम्रो पार्टी यस प्रकारको राष्ट्र तथा जनविरोधी बजेटको सशक्त विरोध गर्दछ’ भनिएको छ ।

विज्ञप्तिमा कोरोना परीक्षणको दायरा बढाउन, निःशुल्क एवम् सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन तथा शीघ्रातिशीघ्र खोपको व्यवस्था मिलाउन र विपन्न, गरिब तथा मजदुर वर्गका जनताका लागि राहत, उद्धार तथा बेरोजगार भत्ताको प्याकेज कार्यक्रम ल्याउनका लागि सरकारसँग जोडदार माग गरेकोे छ ।
सो पार्टीबाट जारी गरिएको उक्त विज्ञप्तीमा जेलमा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइका लागि पनि माग गरेको छ ।