काठमाडौं — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुङ्गा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको नीति राष्ट्रघाती भएको बताएका छन् । अध्यक्ष यादवले बुधबार प्रेस विज्ञप्ति जारी गदै सरकारको यो नीति वातावरणीय हिसाबले घातकसमेत रहेको बताएका छन् ।‘यसले नकारात्मक पर्यावरणीय असर पार्नेछ जसको मूल्य तराई र मधेशमा बसोबास गर्ने जनताले चुकाउनु पर्नेछ,’यादवको विज्ञप्तीमा छ, ‘व्यापार घाटा गर्ने नाममा नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती रहेको छ । यसले चुरे विनाश गर्ने र तराई–मधेशलाई मरुभूमिकरण गर्ने निश्चित छ ।’ सरकारको नीतिले नवधनाढ्यदेखि व्यवसायीलाई फाइदा भएपनि यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई र मधेशमा ठूलो प्राकृतिक संकट आउने दाबी उनले गरेका छन् ।
वन विनाश, वातवरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, चुरे संरक्षण र तराई–मधेशलाई मरुभूमिकरण हुने कार्यबाट जोगाउन तथा त्यहाँका जनताको जीवन रक्षाका लागि जस्तोसुकै संघर्ष पनि गर्न सक्ने यादवको चेतावनी छ । बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ र निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा बसोबास गराउने, वन विनाश गरी होटल, मोटल, रिसोर्ट आदि खोल्ने भनिएकोमा यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको यादवले बताएका छन् ।