काठमाडौं – सरकारले विदेशबाट स्वदेश फर्कने नेपालीहरू बस्नका लागि सातवटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टाइनका रूपमा सूचीकृत गरेको छ । सरकारले खाडी मुलुकमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई पाँच दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाएको छ । सोही नियमअनुसार नेपाल आउनेहरूलाई बस्नका लागि क्वारेन्टाइन होटल तोकिएको विभागले जनाएको छ । बुधबार पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको हो ।
विभागले सार्वजनिक गरेको सूचीमा रहेका होटललाई यात्रुले क्वारेन्टाइनका लागि बुक गर्न सक्ने व्यवस्था गरिएको छ । हाल नेपालले पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान खुला गरिएको छ ।
क्वारेन्टाइन तोकिएका होटल
काठमाडौंका सांग्रिला, होटल ¥याडिसन, होटल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटल गरी सातवटा पाँचतारे होटललाई विभागले क्वारेन्टाइन तोकेको छ । यी होटल सञ्चालकले २५ भन्दा बढी कोठा क्वारेन्टाइन बनाउन सहमत भएका छन् । चारतारेस्तरका होटल शंकर र होटल हिमालयसमेत क्वारेन्टाइन होटलमा सूचीकृत भएका छन् । तीनतारेस्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कमा समेत यात्रु क्वारेन्टाइनमा बस्न सक्ने छन् ।
यसबाहेक पर्यटनस्तरका ५१ होटल र दुई रिसोर्ट पनि क्वारेन्टाइन सूचीमा समावेश छन् । रिसोर्टमा बूढानीलकण्ठस्थित पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्ट समावेश छ । पर्यटकस्तरीय होटेलमा धुलिखेल लज रिसोर्टलाई यो सूचीमा राखिएको छ ।
तारेबाहेकका होटलमा ३ हजार खर्च
होटलले सामूहिक रूपमा खाना खाने स्थान, बुफे, जिम, साउना, इण्डोर तथा आउटडोर गेम भने पूर्ण रूपमा बन्द गरेको हुनुपर्छ । नेपाली तथा विदेशी नागरिक विदेशबाट आउँदा पालना गर्नुपर्ने आदेश २०७८ को भने पूर्ण पालना गर्नुपर्ने गरी नियम बनाइएको छ । सरकारले तारे होटलले क्वारेन्टाइन बसेबापत लिने शुल्क तोकेको छैन । ती होटल स्वयंले मूल्य तोक्न सक्ने जनाएको छ । तर, पर्यटनस्तरका होटलको दैनिक शुल्क भने ३ हजार रुपैयाँ तोकिएको छ । यसभित्र बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खानासमेत पर्छ ।
क्वारेन्टाइन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैँचा हुनुपर्छ । होटल क्वारेन्टाइनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना संकलनका लागि समेत पर्याप्त स्थान भएको हुनुपर्ने सर्त राखिएको छ । होटलको कोठामा टीभी, वाईफाईको सुविधा अनिवार्य गरिएको छ । अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्था गर्नुपर्छ । होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्छ ।