काठमाडौं –उपत्यकामा निषेधाज्ञाको समय पुनः थप गर्ने निर्णय गरिएको छ । काठमाडौं ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गर्नुभएको हो । उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा लागु हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनेभएको छ । 
वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।  अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताउनुभएको छ । 
बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली,भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी रहनु भएको थियो । बैठकमा निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकाल्दै जेठ ३१ सम्म निषेधाज्ञा लागुगर्ने निर्णय गर्नु भएको हो ।