निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म मोबाइल गेममा झुण्डिरहँदा अभिभावकहरूमा चिन्ता बढ्दै गएको हो ।
अध्ययन गर्न काठमाडौं गएका धनगढीका १४ वर्षीय एक किशोर कोरोना सङ्क्रमणका कारण धनगढी आएका छन् । पहिलापहिला काठमाडौँबाट घर आउँदा परिवारका सबै सदस्यसँग समय व्यतीत गर्न रुचाउने उनको व्यवहारमा आजभोलि आएको परिवर्तन देखेर परिवारका सदस्यहरू चिन्तित छन् । सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर आजभोलि घण्टौँसम्म बन्द कोठामा खानेकुराको पर्वाह नगरी इन्टरनेटमा झुम्मिन थालेपछि परिवारमा चिन्ता थपिएको हो । ’पहिला पहिला काठमाडौँबाट घर आउँदा साथीभाई, अभिभावक तथा आफन्तहरुसँग बढी समय रमाउँथ्यो, एक्लै बस्न कत्ति पनि रुचाउँदैन थियो तर यसपालि के पो हो त्यो ‘फ्री फायर गेम’ खेल्छ, रातदिन कसैसँग बोल्दैन, केही खाँदैन, त्यसैले चिन्ता लाग्ने गरेको छ,’ ती किशोरका बुबाले भने ।

कैलालीको घोडाघोडीका हरिराम विकलाई १५ वर्षीय छोरीले दिनरात एकोहोरिएर इन्टरनेट गेम खेल्न थालेपछि चिन्ता थपिएको छ । ’घरमा हामी आमाबाबुले बोलाउँदा नसुन्ने, झर्को मान्ने तथा एकोहोरिने खालका स्वभावले अझै चिन्ता थपिएको छ,’ हरिराम भन्छन्, ’कहिलेकाहीँ मौका पारेर उसले प्रयोग गर्ने मोबाइल लुकाइदिँदा पनि गेम खेल्न नपाउँदा झिँजो मान्ने, झगडा गर्ने गरेको तथा बेलाबेलामा आफैँले भनेका कुराहरू पनि बिर्सिने गरेकाले इन्टरनेट गेमका कारण स्मरणशक्ति कमजोर भयो कि भन्ने हामीलाई लागेको छ, निषेधाज्ञा खुल्ने बित्तिकै नेपालगञ्ज उपचारका लागि लैजाने विचार गरेका छौँ ।’ १० देखि १५ वर्षसम्मका बालबालिकाले घण्टौँ इन्टरनेटमा बिताउँदा उनीहरूमा मानसिक समस्या देखिने, खेलिरहेको खेलबाहेक अन्य कुनै कुराको ध्यान नहुने, खाना समेत नखाने, अभिभावकले खाना खान बोलाउँदा झर्किने, अभिभावकसँग झगडा गर्ने स्वभाव बढ्दै जाने मनोपरामर्शदाता सीता भण्डारी बताउँछिन् ।
अझ अहिले जारी निषेधाज्ञाको समयमा बालबालिकाहरू कोठाभित्र आनन्दले बसिरहेका छन् भनेर ढुक्कसँग बस्न नहुने उनको भनाइ छ । बालबालिकामा इन्टरनेट गेमको बढ्दो लत नियन्त्रण गर्न अभिभावक नै सचेत रहनुपर्ने उनी बताउँछिन् । परिवारमा अभिभावक र बालबालिकासँगै बढी समय बिताउने तथा उनीहरूसँग कुराकानी गरिरहने र बालबालिकालाई नयाँ–नयाँ पकवानहरू बनाउन सिकाएर बढी समय व्यस्त बनाउन अभिभावकहरू सक्रिय हुँदा पनि बालबालिकामा बढ्दो इन्टरनेट गेमको लत घट्न सक्ने विश्वास भण्डारीको छ । अभिभावकले समयमै बालबालिकाको यो लतलाई नियन्त्रण गर्न प्रयास नगर्ने हो भने पछि गएर ठूलो समस्या हुने भन्दै अभिभावकले बढीभन्दा बढी समय आफ्ना बच्चाहरूसँग बिताउनुपर्ने मनोपरामर्शदाता भण्डारीको सुझाव छ । – रासस