काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिनु भएको छ । आजको बैठकमा के–के विषयमा छलफल हुनेछ भन्ने खुलाइएको छैन । पछिल्लो समय एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद अघि बढाउँदै आउनु भएको छ ।
यसअघि मङ्गलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । ओली पक्षीय स्थायी कमिटी सदस्यहरूमात्र उपस्थित उक्त बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै ठोस निर्णय नभएको बताएको छ । नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले भन्नुभयो–’सोमबार राति कुराकानी भएको हो त्यसयता कुनै प्रगति भएको छैन,’। यसअघि ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरूले सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा झन्डै चार घन्टा छलफल भएको बताइएको छ ।