काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी विवादको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासबाट न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराई अलग हुनुभएको छ । संवैधानिक इजलासमा हिजो मङ्गलबार कार्की र भट्टराइले न्याय परिणाम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भएकाले आफूहरु इजलासबाट अलग हुने बताउनु भएको हो । न्यायाधीश कार्कीले भन्नुभयो, ‘न्याय परिणाम मात्र हैन प्रक्रियामा समेत निष्पक्षता  हुनुपर्छ । न्यायपालिका प्रतिको जनआस्था र विश्वास कायम रहन आवश्यक छ । पूर्वाग्रहको आशङ्का हुनुहुँदैन’ । ‘अलग रहन अनुरोध गर्ने प्रक्रिया सही हो ।’कार्कीले न्यायिक निष्पक्षताले मात्र लोकतन्त्र मजबुद बनाउन सकिने बताउनु भएको छ । 
संवैधानिक इजलासमा कार्की र भट्टराईले भन्नुभयो– ‘निवेदकको आशङ्कामा ढुक्क हुन नसक्ने अवस्था, प्रारम्भिक सुनुवाइमा नै विवाद भएका हुनाले हामी दुईजना अलग हुने जानकारी गराउन चाहन्छौं’ ।  तर संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले भने अलग हुन अस्वीकार गर्नु भएको छ । केही वकिलहरूले उहाँहरु इजलासबाट अलग हुनुपर्ने अडान लिँदै आएको बेला उहाँहरुले इजलासबाट अलग नहुने राय दिनु भएको हो । ‘नेकपा विभाजनको पुनरावलोकन निस्सा नदिने मुद्दा र यो मुद्दामा सम्बन्ध देखिँदैन । मैले अलग हुनुपर्ने आधार र कारण देखिँन । अलग हुनुपर्ने आर्थिक कारण पनि छैन’, केसीको भनाई थियो ।