काठमाडौं– चिनियाँ सहयोगमा प्राप्त कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाता अघि चिनियाँ समकक्षी राष्ट्रपति सी जिनपिङ्गलसँग टेलिफोन वार्ता गर्दै खोप सहयोगको याचना गरेपछि चीनले नेपाललाई सहयोग गर्न लागेको हो ।

नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज उक्त सामान आज दिउँसो २ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताएका छन् । चीनले नेपाललाई १० लाख मात्रा खोप दिएको हो । यस अघिपनि चीनले ८ लाख भेरोसिल खोप उपलब्ध गराएको थियो ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिंदै जाँदा अत्यावश्यक अरु स्वास्थ्य सामग्रीको सहयोग जुटेता पनि खोपको भने अभाव रहँदै आएको छ । सरकारले विभिन्न देशसँग खोप सहयोगका अमेरिका, बेलायतसँग पत्राचार गरी औपचारिक रुपमै आग्रह गरिसकेको छ । अमेरिका तथा बेलायतलाई खोप सहयोगका लागि राष्ट्रपतिकै तर्फबाट पत्र पठाइसकिएको छ । भारतले भने आफ्नै देशमा कोरोना भाइरसको महामारीले गर्दा नेपाललाई दिनु पर्ने खोप दिन नसकिने जनाएको छ । नेपालले भारतसँग खोप खरिद गर्न रकम समेत भुक्तानी गरिसकेको छ ।