काठमाडौं – सरकारले चिकित्सा क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई लक्षित गर्दै अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई बाइपास गर्दै अध्यादेशमार्फत् देश चलाइरहेको बेला अहिले भने प्रतिनिधिसभाको मुद्दा अदालतमा विचाराधिन रहेको समयमा धमाधम अध्यादेश ल्याउने काम गर्नु भएको छ । यसैबीच हिजो साँझ बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यकर्मीलाई लक्षित गरी अध्यादेश ल्याउन छलफल गरेकोे छ । परराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता प्रदीप ज्ञवालीले उक्तकुराको जानकारी गराउनु भएको हो ।


हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले गत वर्ष झैं यो वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नै गर्ने निर्णय भएको छ । गत वर्ष पनि कोरोना भाइरस सङ्क्रमणका कारण आन्तरिक मूल्याङ्कनका आधारमै परीक्षाफल प्रकाशित गरिएको थियो ।


यसैगरी हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग मल खरिद् प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । किसानहरुको समस्यालाई निराकरण गर्नेगरी जी टु जी (सरकार–सरकारबीच खरिद् सम्झौता) को आधारमा पाँच वर्षका लागि मल खरिद् प्रक्रिया अघि बढाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी गराउनु भएको हो ।


मन्त्री ज्ञवालीका अनुसार आगामी पाँच वर्षका लागि सम्झौता गर्न लागिएको हो । सुरुमा एक लाख मेट्रिक टन युरिया लगायतका मल खरिद् गर्नेगरी सम्झौता गर्ने कुरा भएको छ । त्यो वर्षेनी वृद्धि गर्नेगरी सम्झौताको प्रक्रिया अघि बढाइने छ ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय हवाई सेवा पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।