काठमाडौं – सभामुख अग्नि सापकोटाले पटक –पटकको प्रतिनिधिसभा विघटनको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशङ्का उत्पन्न भएको बताउनुभएको छ ।

संसद दिवसको अवसरमा हिजोबुधबार शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले, ‘संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशङ्का उत्पन्न भएको छ ।’

उहाँले यस दिवसले संघीय संसद सदस्य, संविधानसभाका सदस्य, पूर्व सांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

वि.सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिनलाई संसद दिवसको रुपमा मनाउने गरिन्छ । यस वर्ष संसद दिवस मनाउँदै गर्दा चौतर्फी संकट व्यहोरिरहेको सभामुख सापकोटाको सन्देशमा उल्लेख छ । कोरोना महामारी, मौसमजन्य विपत्ती र प्रतिनिधिसभाको दोस्रोपटक विघटन गरिएको विषयलाई उहाँले संकटको रुपमा उल्लेख गर्नुभएको हो ।
मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पु¥याउनु आजको आवश्यकता भएको सभामुख सापकोटाको भनाइ छ ।