काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गर्नुभएको छ । सबै पुराना कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहनुभएका ओलीले मङ्गलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर सो निर्णय गर्नुभएको हो ।


बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गराउने र नवौं महाधिवेशनपछिका सबै संरचनामा पार्टी फर्काउने निर्णय भएको पार्टीप्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । नेपाल समूहले राखेको मागअनुसारै ओलीले बुधबार महाधिवेशन आयोजक कमिटी भङ्ग गर्न र पुराना कमिटी ब्युँताउन आयोजक कमिटीको बैठक बोलाउनु भएको छ । सोहीअनुसार आयोजक कमिटीको बैठक बस्ने भएको छ । पार्टीप्रवक्ता ज्ञवालीका अनुसार, ‘नेकपा एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको छ, यो निर्णयसँगै सबै संरचना पुरानै अवस्थामा आएका छन्, ।’

बैठकले एमालेका दुई वरिष्ठ नेता, पदाधिकारी तथा स्थायी कमिटी सदस्य यथावत् रहने निर्णय गरेको छ । सो बैठकका अनुसार झलनाथ खनालको वरीयता ओलीपछि र नेपालको वरीयता खनालपछि हुनेछ । अर्थात् एमालेमा नेपालको स्थान अब ओलीपछि तेस्रो हुनेछ । आज बुधबार बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित कारबाही गरिएका ११ जनाबाहेक नेपाल पक्षका नेतालाई पनि बोलाइएको छ ।

यद्यपि नेपाल पक्षका नेताले सो बैठकमा सहभागी नहुने बताएका छन् । ‘महाधिवेशन आयोजक कमिटीलाई नवौं महाधिवेशनको विधानले चिन्दैन,’ नेपाल पक्षका नेता ठाकुर गैरेले भन्नुभयो– एमालेको केन्द्रीय कमिटी मात्रै एमालेको विधानले चिन्नेछ । उहाँका अनुसार यो निर्णयसँगै पार्टीको विवाद मिलान गर्ने बिन्दुको सुरुवात भएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी अलग गरिदिएपछि एमाले अध्यक्ष ओलीले आफूपक्षीय नेताहरूको मात्रै बैठक बोलाएर पदाधिकारी सबै भङ्ग गरी अध्यक्ष र महासचिव मात्रै कायम गरेका थिए । उहाँले त्यही बेला केन्द्रीय कमिटी विघटन गरेर १०औं महाधिवेशन आयोजक कमिटी गठन गर्नुभएको थियो ।