काठमाडौं – विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा १ हजार बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज मङ्गलबार निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले १ हजार ५ सय ८९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो । तीमध्ये ५ सय ६४ वटा गाडी र १ हजार २५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय ८८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । सोही कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ३ सय ९७ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने ८२ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८ हजार २ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । सो क्रममा २ हजार ६२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।