काठमाडौं – नेपाली काङ्ग्रेसको आगामी भदौं तेस्रो सातामा हुने चौधौं महाधिवेशनमा लक्षित गर्दै शीर्ष नेताहरुको भेटघाट र छलफलले तीव्रता पाएको छ । आगामी महाधिवेशनमा सभापतिका आङ्काक्षीहरु धेरै देखिएका छन् । तर पनि काङ्ग्रेसका दिवङ्गत शीर्ष तीन नेताका पुत्र त्रयहरु आपसी तालमेल गरेर पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने भन्दै बीपी पुत्र डा. शशाङ्क कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिबीच आज पनि भेटवार्ता भएको छ ।


उनीहरुको यो भेटवार्ता एक हप्तादेखि कुनै न कुनै रुपमा भैरहेको छ । नेपाली राजनीतिमा विस्तारै राजनीतिक रुपमा स्खलित हुँदै गएको नेपाली काङ्ग्रेसलाई सञ्जीवन बुटीका रुपमा आफुहरुलाई सिद्ध गर्न यी नेताहरुले घनिभूत रुपमा भेटघाट, सम्वाद र छलफल चलाइराखेका छन् । काङ्ग्रेस भित्रको परम्परागत र जवर्दस्तरुपमा रहेको समीकरण भत्काएर नयाँ समीकरण निर्माण गर्ने तयारीमा रहेका यी नेताहरुबीच यसअघि पनि दुई पटक भेटघाट र छलफल भएको थियो ।


आजको भेट र छलफल क्षेत्रपाटी चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा भएको हो । यसअघि पहिलो पटक विमलेन्द्र निधिले आफ्नै निवास बानेश्वरमा प्रकाशमान र शशाङ्कलाई बोलाएर काङ्ग्रेसमा नयाँ समीकरण खोज्ने ढोका खोलेका थिए । त्यसपछि बीपी पुत्र डा. शशाङ्कको निवास महाराजगञ्जमा यी त्रयनेताबीच भेटघाट र लामो छलफल भएको थियो ।
नेता बाबुहरुको विरासतमा काङ्ग्रेसको राजनीति गर्दै आएका यी नेताहरुको लगातारको भेट र छलफलले नेपाली काङ्ग्रेसमा एक खालको नयाँ उर्जा रहितको तरङ्ग त उजागर गरेको छ नै, यो मिलनले साँचो अर्थमा सार्थकता पायो भने नेपाली राजनीतिमा समेत एक खालको प्रभाव पार्न सक्नेछ ।


नेपाली काङ्गे्रस वीपीको विचारको हिमायति भनेता पनि उसले काङ्ग्रेसले आफ्नो विचार, सिद्धान्त र अबको कार्यदिशा के हो भन्ने कुरा आफ्ना नेता तथा कार्यकर्तालाई दिन नसक्दा काङ्ग्रेसी राजनीतिमा धमिरा लागेको जो कोहीले पनि अनुमान गरेकै कुरा हो । काङ्ग्रेसको खस्कदो दूरावस्थाप्रति चिन्चित भएर यी तीन नेताले नयाँ सिराबाट एकतावद्ध भएर अगाडि बढ्न चाहेकै हुन् भने पक्कै पनि आगामी चौधौं महाधिवेशनमा पार्टीले नयाँ सञ्जिवनि धारण गर्न सक्ने छ ।


मूलभूतरुपमा विगतलाई कोट्याएर हेर्ने हो भने विमलेन्द्र निधि सभापति देउवाका विश्वास पात्रका रुपमा स्थापित नेता हुन् भने प्रकाशमान सिंह बीचको धारमा उभिएका नेता हुन् । तर १४ औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बनाउन देउवा सहमत नभएपछि निधि नयाँ समीकरण निर्माण गरेर अघि बढ्ने तयारी उत्रिएका हुन् । देउवाले तेह्रौं महाधिवेशनमा आफुलाई सभापतिमा जिताए चौधौं महाधिवेशनमा निधिलाई समर्थन गर्ने जुन बाचा गरेका थिए, त्यो बाचा पूरा गर्ने प्रतिवद्धता देउवाले पुरा गर्ने भएको भए निधिको काङ्ग्रेस भित्रको नयाँ समीकरणका निम्ति यस किसिमको सक्रियता निश्चय नै हुने थिएन ।
विमलेन्द्र निधि र प्रकाशमान सिंहको राजनीति पृष्ठभूमि हेर्दा जगदेखि उठेका नेता हुन् । तर वीपी पुत्र डा. शशाङ्क कोइराला एक कुशल आँखा विशेषज्ञ हुन् । उनको राजनीतिक धरालत हेर्ने हो भने तुलनात्मक रुपमा बाबुको विराशत बाहेक जगदेखिको खासै राजनीति कार्यकर्ता होइनन् । काङ्ग्रेसमा भलै उनको लगानी त होला नै । तर उनले तेह्रौं महाधिवेशनमा राजनीतिक रुपलेभन्दा पनि बाबु र कोइराला परिवारको विराशतले नै राजनीतिमा स्थापित गरेको हो र उनी त्यसैको जगमा पार्टीको महामन्त्री समेत बन्न पुगे । यी सबै किसिमले हेर्दा निधि र सिंहभन्दा शशाङ्कलाई सभापति बनेर पार्टी सङ्गठन चलाउन हम्मेहम्मे पर्ने निश्चित् छ । यद्यपि, यी तीन नेताहरु मध्ये शशाङ्क निश्कलङ्कित र इमान्दार ठहरिन्छन् ।