काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर नेता डा. शेखर कोइरालाले म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस् भन्नुभएको छ । पौडेलनिवास बोहोराटारमा हिजो सोमबार भएको भेटघाटका क्रममा डा. कोइरालाले पौडेलसँग सहयोग माग्नुभएको हो ।

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । पौडेललाई कोइरालाले भन्नुभयो –‘म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस् ।’

पौडेलले कोइरालासँग अन्तिमपटक आफूलाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो । पौडेलले आफू अहिलेसम्म पार्टी सभापति र प्रधानमन्त्री नभएको भन्दै एकपटक सहयोग गर्न आग्रह गर्नुभएको हो । हिजो भएको भेटमा पौडेल र कोइरालाबीच क्रियाशील सदस्यताको विवाद समाधानका विषयमा पनि छलफल भएको थियो ।