काठमाडौं – एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धन संविधानको रक्षाका लागि लडिरहेको बताउनुभएको छ । नेता नेपालले समाज र संस्कृतिको कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिको ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीले नेताहरुको नामै काडेर गरेको टिप्पणी सहि भए जनताको अदालतमा उभिन तयार भएको बताउनुभएको हो ।

आज सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा बोल्दै नेपालले अहिले भइरहेको लडाई व्यक्तिका विरुद्ध नभई प्रवृत्तिका विरुद्धको लडाई भएको बताउनुभएको हो । उहाँले आगामी दिनमा भएका त्रुटिहरु मनन गरेर अघि बढ्ने पनि बताउनुभयो ।

कार्यक्रममा जसपाका नेता अशोक राईले कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने बताउँदै विपक्षीहरूको गठबन्धन रहर र लहडले नबनेको भन्दै आवश्यकताले बनेकाले यसलाई टिकाउने बताउनुभयो । ‘गठबन्धन रहर र लहडले बनेको होइन, आवश्यकताले बनेको हो, त्यसैले यसलाई हामी टिकाउँछौ’ राईको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले पनि केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध एक भएर लड्ने र गठबन्धन पछिसम्म पनि एक भएरै जाने बताउनुभएको छ ।