काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना हुने निश्चित नै भएता पनि अझै आशङ्का रहेको बताउनुभएको छ । आज सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संविधान र विगतका नजिरले समेत प्रतिनिधिसभा पुनःस्थापना हुने धेरै आधार भएपनि ढुक्क भएर बस्ने अवस्था भने नभएको बताउनुभएको हो ।

‘संसद त पुनःस्थापना हुन्छ तर अझैपनि विश्वस्त हुन सक्ने अवस्था छैन’ अध्यक्ष प्रचण्डले पुनःस्थापनाले मात्रै पनि समस्याको समाधान हुने अवस्था नरहने बताउाुभयो । ‘त्यसैले अलिकति पनि सतर्कता टुटाउन हुँदैन । आफ्नो ठाउँबाट आवाज उठाइ राख्नुपर्छ’ प्रचण्डको भनाई छ । उहाँले कोभिडका कारण लाखौं जनता सडकमा आउन नपाइरहेको भन्दै अन्यत्र संयन्त्रबाट असंवैधानिक कदमका विरुद्ध संघर्ष जारी राख्नुपरेको बताउनुभयो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सवै असंवैधानिक काम र निर्णयहरुलाई गठबन्धनले नस्वीकार्ने पनि उल्लेख गर्नुभयो । प्रचण्डले गठबन्धनको सरकार बनेपछि पहिलो प्राथमिकता जनताको जीउधनको रक्षा गर्नेमा हुने बताउनुभएको छ । ‘संसद पुनःस्थापना हुन्छ र शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्छ’, प्रचण्डको भनाई छ । उहाँले प्रधानमन्त्रीको गालीगलौज सुन्न पनि लाज लाग्ने भएको भन्दै ओलीका अभिव्यक्ति ओरालो लागेको बताउँदै उनले अझै गोटी चाल्न सक्नेतर्फ चनाखो हुनुपर्ने बताउनुभयो । ‘खतराको घण्टी सकियो भनेर ढुक्क हुने अवस्था छैन तर सङ्केतहरु सकारात्मक छन् । प्रचण्डले राष्ट्रपति संस्था यति छिटो बदनाम होला भन्ने कल्पना नगरेको भन्दै अहिले त्यस्तो भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताका लागि धेरै छलफल र बहस गरेर नै गठबन्धन बनेको र यो परैसम्म जाने पनि बताउनुभएको छ । उहाँले सम्वृद्धिको यात्रा, विकास र स्थायित्वका लागि एमालेसँग एकता गरेको स्मरण गराउँदै केपी ओलीले आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमति गर्ने तर पालना नगर्ने प्रवृत्तिका कारण एकता नटिकेको स्पष्ट पार्नुभयो । ‘एकै दिन तीन जनालाई बोलाएर तपाईं नै प्रधानमन्त्री र अध्यक्ष बनाउन सक्ने ओली बाहेकका नेता अरु छैनन् प्रचण्डको भनाइ छ । ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने तर आफै भ्रष्टाचारमा संलग्न भइरहेको देखिएको बताउनुभयो ।

‘संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्नुबाहेक अरु कुनै स्वार्थ छैन । यहाँ ओली प्रवृत्तिका नेता छैनन् । ओली गणतन्त्र, धर्म निरपेक्षताको पक्षमा पनि होइनन् प्रचण्डको भनाई छ । उहाँले संविधान नरुचाउने शक्तिहरु केपी ओलीका नजिक हुन पुगेको भन्दै ओलीको राष्ट्रवाद उदाङ्गो भैसकेको बताउनुभयो ।