काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको दायर रिटमा आजबाट सरकार पक्षको बहस सुरु हुँदै छ । आज सोमबार महान्यायाधिवक्ता रमेश बडालले सुरुवाती बहस गर्दै हुनुहुन्छ । बहसका लागि बडाललाई ३ घण्टा समय छुट्याइएको छ ।

महान्यायाधिवक्ता बडालले भन्नुभएको छ– ‘म ३ घण्टा बहस गर्छु ।’ ‘म भन्दा पछि अरु सरकारी वकिल साथीहरुले बहस गर्नुहुन्छ ।’ संवैधानिक इजलासले सरकार पक्षलाई तोकेको १५ घण्टा समय मध्येबाट सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीका लागी १ घण्टा छुट्याइएको छ ।

बाँकी १४ घण्टा मध्ये सरकारी वकिलले ७ घण्टा र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले ७ घण्टा बहस गर्नेछन् । असार ९ गतेबाट संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दामा निरन्तर सुनुवाई भइरहेको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दिपक कुमार कार्की, मीरा खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाले मुद्दाको सुनुवाई गरिरहेका छन् ।