काठमाडौं – नेकपा एमालेभित्र आन्तरिक विवाद चर्किरहेका बेला माधव नेपाल पक्षका एक नेता एवम् राष्ट्रियसभा सदस्य वेदुराम भुसालले आफू स्वतन्त्र हैसियतमा रहन चाहेको बताउनुभएको छ । उहाँले हिजो आइतबार संसद सचिवालयमा पत्र पठाउँदै स्वतन्त्र हैसियतमा रहन चाहेको बताउनुभएको हो ।

आफू निर्वाचित भएको पार्टी नेकपाको अस्तित्व अहिले समाप्त भएकाले आफू दलविहीन भएको र आगामी दिनमा पनि स्वतन्त्र हैसियतमा रहन चाहेको भुसालको पत्रमा उल्लेख छ ।

‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित म सहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ’, उहाँले लेख्नुभएको छ, ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’

राष्ट्रियसभा सदस्य भुसालले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र आफ्नो लेबी कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि आग्रह गर्नुभएको छ ।