काठमाडौं – सरकारले आगामी साउनदेखि सरकारी तथा नीजि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारी साधन र नवीकरण गर्न जाने पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । सर्वोच्च अदालतबाट आफुहरुको पक्षमा फैसला आएपछि विभागले साउनबाट सो नम्बर प्लेट अनिवार्य गर्न लागेको जनाएको हो ।

सरकारी तथा नीजि सवारी साधनका लागि यो प्लेट अनिवार्य हुनेछ । यातायात व्यवस्था विभागले ०७४ भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जोड्न सुरु गरेको थियो । तर, प्लेटमा नेपाली भाषाको अङ्क र अक्षर प्रयोग नभएको विषयमा विवाद सुरु भयो र यो मुद्दा सर्वोच्च अदालत सम्म पुगेको थियो ।

सरकारले इम्बोस्ड प्लेट जोड्न दुई पाङ्ग्रेको हकमा २५ सय, तीन पाङ्ग्रे साना सवारीका हकमा दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान तथा ट्रयाक्टरलगायत चार पाङ्ग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ । ठूला सवारीले इम्बोस्ड प्लेटका लागि ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । विभागका अनुसार हालसम्म १८ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।