काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न लगाइएको निषधाज्ञालाई केही खुकुलो बनाए पनि बाहिर जिल्लाबाट राजधानी आउनेहरुको लर्को लाग्न थालेको छ । सार्वजनिक यातायात नचले पनि काठमाडौं छिर्ने मुख्य नाका नागढुङ्गामा दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारी साधनहरुबाट आउनेको सङ्ख्या बढ्न थालेको नागढुङ्गा प्रहरीले जनाएको छ ।


विना पासका चार पाङ्ग्रे निजी सवारी साधनहरुको लर्को नागढुङ्गामा देख्न सकिन्छ । बिरामी बोकेका एम्बुलेन्स, अत्यावश्यकीय कामको लागि पास बनाएर आउने बाहेकका अन्यलाई राजधानी प्रवेशमा रोक लगाइएको छ । चार पाङ्ग्रे सवारी साधनहरुलाई सुरक्षा निकायले लगत राखी चेकजाँच गरी छाड्ने गरेता पनि एक हप्तादेखि विना पासका चार पाङ्ग्रे निजी सवारी साधनहरु राजधानी छिर्ने प्रयत्न गरेको देख्न सकिन्छ । तर, नागढुङ्गाका प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयको पास बोकेका र अत्यावश्यकीय सेवाका बाहेक कुनै पनि चार पाङ्ग्रे सवारी साधनलाई काठमाडौं छिर्न रोक लगाएको छ ।
राजधानीमा निषेधाज्ञा खुकुलो बनाए पछि कतिपय बस सञ्चालकहरुले राती–राती पोखरा, बुटवल, भैरहवा, कैलाली, नेपालगञ्ज जस्ता लामो दूरीबाट काठमाडौं पुर्याइदिने शर्तमा डबल भाडा तिरेर आउने यात्रुहरु पनि भेटिन्छन् । यसरी राजधानी भित्रिन खोज्ने यात्रुहरुलाई खानीखोला र नागढुङ्गाको बीचमा पर्ने सिक्रेखोला सडक खण्डमा प्रहरीले चेक जाँच गर्न थालेपछि बसले त्यही ओरालेर अलपत्र रुपमा छोड्ने गरेको प्रहरीको भनाइ छ । यसरी बीच बाटोमा अलपत्र परेका त्यस्ता यात्रुहरु लुकिछिपी त्यहीबाट भिर र जङ्गलको बाटो हुँदै राजधानी प्रवेश गर्ने गरेको प्रहरी बताउँछन् ।


प्रहरीले चेक जाँचको क्रममा फर्जि पास बनाएर आउने पनि भेटिने गरेको र उनीहरुलाई त्यहीबाट फर्काउने गरेको बताएको छ । विरामी, विदेश जानेहरु, काजकिरिया गर्नेहरु, विवाहका गाडी तथा अत्यावश्यक सेवाका सवारी बाहेक विना पास राजधानी प्रवेश गर्न खोज्ने चार पाङ्ग्रे सवारी साधन र यात्रुहरुलाई आएको ठाउँमा नै फिर्ता पठाउने गरेको चेक जाँचमा सम्लग्न प्रहरी बताउँछन् । विना पासका त्यस्ता सवारी साधनहरुलाई नागढुङ्गाबाट प्रहरीले फिर्ता पठाउने गरेपनि यात्रुहरु गाडीबाट ओर्लिएर पैदल हिंडेर आउने र नाका कटेपछि ट्याक्सीबाट राजधानी छिर्नेको भिड देख्न सकिन्छ । ‘लामो दुरीका बसहरुले बाहिर जिल्लादेखि यात्रु ल्याएर तललिर छोड्ने र ति यात्रुहरु पैदल हिंडेर आउँछन् । सोध खोज गर्दा हाम्रो घर यही तल हो, काम परेकोले त्यही परसम्म जान लागेको भन्छन्, अनि हामी छोड््ने कि रोक्ने यस्तो समस्या भैरहेको छ । छाड्नु पर्ने हुन्छ ।’ चेक जाँचमा खटिने एक प्रहरी बताउँछन् । भाडाका सवारी साधनले नागढुङ्गा आसपासमा ओरालेका यात्रुहरु हिंडेर राजधानी छिर्दा कोरोना भाइरस नियन्त्रणमा थप समस्या आउन सक्ने देखिन्छ ।