काठमाडौं – नेकपा (एमाले) ओली समूहको आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटिको बैठक बोलाउने निर्णय गरेको छ ।

उक्त बैठकले असार १६ गते पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता समेत रहनुभएका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।


राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णयहरु गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटिको बैठक बोलाउनु परेको प्रवक्ता ज्ञवालीको कथन छ । ‘पछिल्लो राजनीतिक अवस्था, कोरोना भाइरसको महामारी, प्राकृतिक विपत्तिलगायत देशको राजनीतिका विभिन्न आयामहरुको संक्षिप्तरुपमा गहन छलफल भयो । यी विषयहरुमा केही थप निर्णयहरु गर्नु भएकोले अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णयहरु निकाल्नका लागि असार १६ गते काठमाडौंमा १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।’

सोही क्रममा नेता ज्ञवालीले बैठकले पार्टी सदस्यता नवीकरणको कामलाई तीव्रता दिन मातहतका कमिटीहरुलाई निर्देशन दिएको समेत बताउनु भयो । प्रवक्ता ज्ञवालीले एमालेलाई एकताबद्ध बनाउनका लागि हरसम्भव प्रयास गरिरहेको भन्दै एमाले एकताबद्ध भइरहेमा मात्रै कम्युनिस्आन्दोलन, संविधान र राष्ट्रिय एकताको रक्षा गर्न सकिने हुँदा आफूहरु एकताको पक्षमा रहेको दावी समेत गर्नुभयो ।

स्थायी कमिटी सदस्य ज्ञवालीले ‘नेकपा एमालेको एकतालाई अक्षुण राखेर पार्टीलाई सुदृढ गरेर लैजान सकेमात्रै लोकतन्त्रको रक्षा गर्न सकिन्छ । कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिन्छ । वर्तमान संविधानको रक्षा गर्न सकिन्छ। राष्ट्रिय एकता र राष्ट्रियताको पनि रक्षा गर्न सकिन्छ। एमाले कमजोर हुँदा खेरी यी सबै पक्षहरु अप्ठ्यारोमा पर्छन्, सङ्कटमा पर्छन् भन्ने निष्कर्षका साथ हामी त्यसका लागि हरसम्भव प्रयत्न गरिरहेका छौं’ भन्नुभएको छ । प्रवक्ता ज्ञवालीले आफूहरु एकताको पक्षमा रहे पनि माधव नेपाल पक्षधर पार्टीलाई विभाजित गर्ने र प्रधानमन्त्री ओली नेतृत्वको सरकार गिराउन लागेको भन्दै माधव पक्ष एकताको पक्षमा नरहेको जिकिर पनि गर्नुभयो ।