काठमाडौं– मनसुन सुरुभए सँगै देशभरको मौसम आज आइतबार सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेश केही ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ र केही भागमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच देशको मध्य क्षेत्र बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षा हुनुको साथै उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् । देशभर मनसुनी वायुको प्रभाव रहेकोले दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको छ ।