काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्वहरूले राष्ट्रपतिलाई गाली गर्न र चिर्थोर्ने कार्यमा अग्रसर भइरहेको आरोप लगाउनुभएको हो ।

हिजो शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिलाई गाली गर्ने प्रतिस्पर्धा चल्नु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन छ ।’ केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेर राष्ट्रपतिलाई गाली गर्दै राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको बताउँदै राजनीतिलाई सही ढङ्गले चल्न नदिँदा त्यस्ता समस्या देखिने गरेको जानकारी गराउनुभयो ।