काठमाडौं – गत दुई सातायता कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुने दर बढी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक सङ्क्रमित संख्याभन्दा सङ्क्रमणमुक्त हुनेको संख्या बढी रहेको पाइएको हो ।

गत २९ जेठमा ३ हजार ३ सय ८४ जनामा सङ्क्रमण देखिएकोमा ६ हजार २ सय ९५ जना सङ्क्रमणमुक्त भएका थिए । त्यसयता दैनिक थपिने सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । २ सातामा ३८ हजार ६ सय ९० जनामा सङ्क्रमण पुष्टि हुँदा ५५ हजार ५ सय ९६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा संक्रमित निको हुने दर ९१ दशमलव ३ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४ सय १३ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।