काठमाडौं – मदन भण्डारी फाउन्डेसनले २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ भेरी अस्पतालको आइसियुमा कार्यरत कालिकोटकी स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, काठमाडौंमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारको राशि एक लाख रहेको छ । उक्त पुरस्कार २०७८ साल आसार १४ गते जननेता भण्डारीको ७०औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ ।

कोभिड १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा रही कोभिडबाट संक्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गरेकामा उनीहरूको योगदानको उच्च मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको फाउन्डेसनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो ।

समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यसअघि हास्यकलाकार महजोडी, सहिद पार्क–हेटौँडा, मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेसन’, प्रा.डा. सुवोध शर्मालाई प्रदान गरिएको थियो ।– रासस