काठमाडौं – सरकारले ज्येष्ठ नागरिकलाई कोरोना भाइरस सङ्क्रमण विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले शुक्रबार सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने जानकारी दिनुभयो । जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोपको पहिलो मात्रा लगाइएको थियो ।

यसअघि पहिलो मात्रा लगाएकालाई समेत दोस्रो मात्राको खोप दिइनेछ । खोप लगाउन पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो मात्रा र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।– रासस