काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनः कर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो ।

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ । कुल १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनः कर्जा प्रदान गरिनेछ । अध्ययन समितिले १० मेगावाटभन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो ।

कोरोनाका कारण समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ। केन्द्रीय बैंकले प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, पाँच करोडसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध गराएको छ । उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ट रुपमा प्रदान गरिनेछ ।– रासस