काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताउनुभएको छ । आज शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको एक कार्यक्रममा प्रधानमन्त्रीले एउटाका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने पनि बताउनुभएको छ । ‘राष्ट्रिय हितहरुलाई महत्वमा राखिन्छ तर राष्ट्रिय हित मात्रै होइन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय हित या त अन्ध राष्ट्रवाद हुन्छ या सङ्किर्ण राष्ट्रिय स्वार्थ केन्द्रीत हुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उहाँले राष्ट्रिय हितलाई मात्रै महत्व दिँदा त्यसले अन्तर्राष्ट्रियवादलाई नसमाउने भन्दै अन्तर्राष्ट्रिय भाइचारालाई पनि नसमाउने जिकिर गर्नुभयो । ‘राष्ट्रिय हित मात्रै हेर्ने कुरा साना राष्ट्रका लागि झनै उपयोगी हुन सक्दैन । त्यहाँ जस्टिस, त्यहाँ इन्टरनेशनल अब्लिगेसन जोडिनुपर्छ र मात्रै साना राष्ट्रका लागि उपयोगी अन्तत्वगत्वा सवै ठुला साना राष्ट्रका लागि विश्वशान्तिको स्थापना गर्ने, विश्वमा शान्ति कायम राख्ने र विश्वमा साझा समृद्धिका लागि साझा प्रयासहरु केन्द्रीत गर्ने कुरामा’ प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय हितहरुको रक्षा र सम्बर्द्धन न्यायपूर्ण र अन्तर्राष्ट्रिय उत्तर दायित्वसहित हुनुपर्दछ भन्नेमा आफु रहेको बताउनुभयो । उहाँले जुध्ने भन्दा पनि मित्रताको नीति बनाएर अघि बढ्दा कायरता र लघुतावासको प्रतिनिधित्व नगर्ने भन्दै त्यसले न्याय, शान्ति, र पारस्परिक लाभ र सम्मान प्राप्त गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सार्वभौम समानता भनेर आफ्नो दृष्टिकोण अघि सारेको जानकारी गराउँदै त्यसभित्र थुप्रै कुराहरु अटाएकोले छिमेकी सम्बन्धमा कुनै समस्या भए हटाउने र छैनन् भने पैदा हुन नदिने भन्दै मानवजाति र पर्यावरणसँग सरोकार रहेको उल्लेख गर्नुभएको छ । यसै क्रममा उहाँले मानवअधिकारको कुरालाई सुपरफिसियल ढङ्गले मात्रै लिन नहुने र गरिव जनताको बाच्न पाउने अधिकारका रुपमा लिनुपर्ने बताउनुभएको हो ।