काठमाडौं – शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्ने बताउनुभएको छ । आज शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले सरकारले विगतमा पनि कानुन र संविधानको पुर्ण पालना गरेर र अब पनि गर्ने उल्लेख गर्दे संसद् विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णयलाई स्वीकार गर्ने बताउनुभएको हो ।

राजनीतिक अस्थीरता र संसदले नै काम गर्न नसक्ने अवस्था भएपछि अन्तर्राष्ट्रिय अभ्यास तथा राजनीतिक आवश्यकताको सिद्धान्त अनुसार मुलुकलाई स्थिरतातर्फ लैजान संसद विघटन गरिएको प्रसङ्ग उल्लेख गर्दे उहाँले सरकार सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको बताउनुभयो ।

शहरी विकास मन्त्री नेम्वाङ्गका अनुसार, ‘यो सरकार कानूनी राज्य र कानुनी शासनको, संविधानको सिद्धान्तलाई स्वीकार्छ । कानुनी शासन अन्तर्गत न्यायपालिकाकाले स्वतन्त्रतालाई, उसको अधिकार क्षेत्रलाई पूर्ण रुपले सम्मान गर्न जान्दछ । सक्दछ र सक्नुपर्छ भन्ने मान्यता राख्दछ ।’ उहाँले पुनर्स्थापित संसदले मुलुकमा देखिएको अस्थीरता र पश्चगमनको बाटाहरुलाई निराकरण गरेर समस्या समाधान गर्न नसकेको र बहुमतको सरकार गठन गर्ने पटक पटकका अवसर खेर फालेकाले दोस्रो पटक संसद विघटन गर्नुपरेको बताउनुभयो ।

दोस्रो पटक मन्त्रालयको कार्याभार सम्हाल्नुभएका मन्त्री नेम्वाङ्गले आफुले मुलुक र जनताप्रतिको दायित्व निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अर्को आर्थिक वर्षमा सबै भन्दा बढी भौतिक र वित्तीय प्रगति शहरी विकास मन्त्रालयले ग¥यो भन्ने समीक्षा निकाल्न सक्ने गरी कामकारवाही अघि बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्री नेम्वाङ्गले समयमा आयोजना छनौट नहुने, बजेट निकासा नहुने लगायत समस्या देखिने गरेको भन्दै आागामी दिनमा त्यस्ता समस्या आउन नदिन सबैलाई सचेत गराउनुभएको छ । उहाँले लामो समयदेखि अड्किएर रहेको काठमाडौँ उपत्यकाका स्मार्ट सिटी बनाउने निर्णयलाई कार्यान्वयन गर्नेतर्फ पनि सक्रिय ढङ्गले काम गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

मुलुकमा असुरक्षित बसोबास गरिरहेका विपन्न, गरिब बर्गको भुसको छानो हटाएर टिनको छानो लगाउने कार्यक्रममा सन्तोषजनक प्रगति नभएको भन्दै उहाँले मन्त्रालयले अघि सारेको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन पनि निर्देशन दिनुभयो । कोभिड महामारीको असरले पनि मन्त्रालयको प्रगति आशाजनक नै रहेको भन्दै उहाँले एकढिक्का भएर काम गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

मन्त्री नेम्वाङ्गले बताए अनुसार, ‘जति सक्दो छिटो छरितो ढङ्गले जनतालाई पु¥याउने सुविधाहरु र बार्षिक नीति र कार्यक्रमका लक्षहरु प्राप्त गर्न सरकार सक्षम ढङ्गले, सही तरिकाले त्यसको नेतृत्व गर्दछ र यहाँहरुलाई साथ दिन्छ । म आजको दिनमा यही कुराहरु राख्न चाहन्छु । अर्को आर्थिक वर्षमा सबै भन्दा बढी भौतिक र वित्तीय प्रगति शहरी विकास मन्त्रालयले ग¥यो भन्ने समीक्षा निकाल्न सक्यौँ भने त्यही नै सबै भन्दा ठूलो गौरवको विषय बन्छ ।’