काठमाडौं–प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि आज शुक्रबार पनि संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ । इजलासले रिट निवेदकका लागि बहस गर्न तोकेको निर्धारित समयमध्ये अब ४ घण्टा ४५ मिनेट बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र रिट निवेदकका पक्षबाट कानुन व्यवसायीले बहस गर्न सुरुगरेका छन् । आजको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहसको सुरुवात गर्नुभएको छ । वरिष्ठ अधिवक्ता अर्याललाई २० मिनेटभित्र आफ्नो तर्क पेशगर्न समय दिइएको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदहरुले प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता गराएको रिट निवेदनमा वरिष्ठ अधिवक्ता अर्यालले बहस सुरु गर्नुभएको हो । हिजो बिहीबार वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बोर्णबहादुर कार्की, खगेन्द्र अधिकारी, रमनकुमार श्रेष्ठ, हरि उप्रेती, मिथिलेश कुमार सिंह, शेरबहादुर केसी र गान्धी पण्डितले बहस गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई गरी पाँच जनाको इजलास रहेको छ ।