कञ्चनपुर – कञ्चनपुरस्थित भीमदत्त नगरपालिका वडा नं ४ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड भएको छ । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार राति ८ः३० बजे जाँदा एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो । प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो। पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी प्रहरीले मोबाइल लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । वेदकोट–७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनाले भीमदत्त नगरपालिका –६ का सुनिता सिंह र उनका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उनीहरुको साथमा रहेको मोबाइल लुटपाट गरेका थिए । – रासस