काठमाडौं – निर्वाचन आयोगले माओवादी केन्द्रबाट चुनाव जिति एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त गरेको छ । माओवादी केन्द्रले कारबाही गरेपछि आयोगले १४ जनप्रतिनिधिको पद रिक्त गरेको हो ।

२०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो । यसरी कारबाही भएकाहरु मध्ये दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको आयोगको एक विज्ञप्तिमा उल्लेख गरिएको हो । आयोगका अनुसार रौतहटको मैलापुर नगरपालिकाका मेयर रिना कुमारी शाह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह पदमुक्त भएका छन् ।

यस्तै महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक, रौतहटको देवाही गुनाही नगरपालिकाका उपमेयर परनिया देवी, मैलापुर नगरपालिकाका उपमेयर गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी, माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाका उपमेयर छायाँदेवी देवकोटा पदमुक्त भएका छन् ।

आयोगका अनुसार ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्ष सुरेश कुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका ४ का वडा अध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका १ का शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका ४ का वडा अध्यक्ष पुरन सिंह विसी पनि पदमुक्त भएका छन् ।