काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ ।

अघिल्लो बर्ष पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन तीनवटा बैठकपछि पुस २६ गते अन्त्य भएको थियो । सो अवधिमा जम्मा ७ घण्टा ५ मिनेट राष्ट्रिय सभाको बैठक चलेको थियो । नेपालको संसदीय इतिहासमा यो सबैभन्दा छोटो अधिवेशन थियो । हालसम्म २५ विधेयक दर्ता भएको राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिमा रहेका १० विधेयकमध्ये ८ वटा विधेयक सभामा प्रस्तुत गर्नका लागि तयारी अवस्थामा छन् । सरकारले दर्ता गरेका ७ वटा विधेयक पनि छलफल अघि बढ्न नपाउँदा अलपत्र अवस्थामा छन् ।

गत पुस ५ गते पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको सरकारले संसदप्रति सरकार प्रतिवद्ध छ भन्ने देखाउनका लागि पुस १७ गते बैठक बोलाए पनि बिजनेस नदिई ९ दिनपछि बन्द गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार पहिलो अधिवेशन अन्त्य गरेको ६ महिनाभित्र संसदको अर्को अधिवेशन बोलाउनुपर्ने प्रावधान अनुसार सरकारले राष्ट्रिय सभाको बैठक आह्वान गरेको हो ।