काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी पाँच दलको गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनकै लागि मात्रै नबनेको दावी गर्नुभएको छ । उहाँले राष्ट्रपतिले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको जिकिर गर्नुभएको छ । अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो– ‘कमसेकम राजाको सान त थियो ।’ आज बिहीबार विपक्षी गठबन्धनले गरेको एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो दावी गर्नुभएको हो ।

उहाँले आफूहरुको सङ्घर्ष कसलाई प्रधानमन्त्री बनाउने र हटाउनेभन्दा पनि संविधान, लोकतन्त्र र राष्ट्रिय हितका लागि भएको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार– ‘एउटा प्रधानमन्त्री बनाउन र एउटा हटाउनकै लागि मात्रै यो गठबन्धन बनेको होइन । यो सङ्घर्ष संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाईं हो । सिस्टम बचाउने वा नबचाउने भन्ने लडाइँ हो । यसमा पाँचै दलमा समझदारी बनेको छ । यो प्रधानमन्त्रीका निम्ति भएको सङ्घर्ष होइन ।’

सैद्धान्तिक सहमतिका साथ पाँच दलको गठबन्धन बनेको प्रचण्डको भनाइ छ । उहाँले, ‘पहिलो–संविधानको रक्षा गर्ने र समयानुकुल परिमार्जन गर्दै लैजाने, दोस्रो– लोकतन्त्रका आधारभूत मान्यताको रक्षा गर्ने र तेस्रो–देशको राष्ट्रियता रक्षा गर्ने भन्ने सिद्धान्तमा यो गठबन्धन बनेको हो भन्नुभएको छ ।’ उहाँले यो गठबन्धनलाई पछिसम्म कसरी लैजान सकिन्छ भन्नेबारे पाँच दलबीच लामो बहस र छलफल भएको बताउनुभएको छ ।