काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहीबार विपक्षी गठबन्धनले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा विघटनले मुलुकको लोकतन्त्रमाथि नै खतरा उब्जिएको भन्दै यसविरुद्ध संघर्षमा उत्रनुपर्ने बताउनुभएको छ । सभापति देउवाले ओलीको अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान सङ्कटमा परेको भन्दै प्रधानमन्त्रीबाट गैरजिम्मेवार काम भएको बताउनुभयो ।

बिहीबार विपक्षी दलले गरेको पत्रकार सम्मेलनमा उनले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरिएको बताउनुभयो । प्रधानमन्त्रीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान नै संकटमा परेको भन्दै देउवाले अध्यादेशमार्फत शासन चलाउने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएको बताउनुभयो ।

देउवाका अनुसार, ‘अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने, कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्वतयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्।’ देउवाले भन्नुभएको छ– ‘राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्यहरु भएका छन् । लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको छ । यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नविन संघर्ष जारी छ ।’

सभापति देउवाले भन्नुभयो, ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरातमा असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथिनै खतरा उत्पन्न गरेको छ । प्रतिनिधि सभाका बहुमत १४९ सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वान अनुसार हामीले प्रधानमन्त्रीका लागि दावीसहित पेश गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ । तसर्थ हामीले संवैधानिक अधिकार र लोकतन्त्रको लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएका छौँ ।’

पाँच राजनीतिक दल राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलहरुको संयुक्त मोर्चाका साथ अग्रसर भएको उहाँको भनाइ छ । प्रधानमन्त्रीले सिर्जना गरेको चुनौती पार गर्न आफूहरु संघर्षमा रहेको भन्दै देउवाले आवश्यक परेमा जनपरिचालनसमेत गर्ने बताउनुभएको छ ।