काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा अध्यादेशमार्फत देशमा स्वेछाचारी शासन चलाउन खोजेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाउनु भएको छ । आज बिहीबार विपक्षी गठबन्धनले विविध सञ्चारमाध्यमहरुसँग आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै यादवले यस्तो बताउनुभएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार, ‘केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसदलाई भङ्ग गरेर राष्ट्रपतिसँगको मिलेमतोमा अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक निकायहरुलाई अध्यादेश ल्याएर त्यसको प्रकृया, संवैधानिक व्यवस्थालाई तहसनहस पारेर कब्जा गर्ने र स्वेछाचारी शासन र निकरङ्कुशतातर्फ मुलुकलाई लैजान चाहेका छन् ।’ उहाँले अघिल्लो पटकको संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्चले संसद् पुनःस्थापना गरेको अवस्थामा राजीनामा दिनुपर्नेमा ओलीले त्यसो नगरी दोस्रो पटकसमेत संसद् विघटन गरेर मुलुकलाई निकरङ्कुशतातर्फ धकेलेको आरोप लाउनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई लोकतन्त्र, स्वतन्त्रता र संविधानवादमाथि विश्वास नभएको यादवको भनाइ छ । उहाँले ओली सरकारले प्रेस ऐन ल्याएर प्रेसको घाँटी समाउन खोजेको बताउनुभयो । जसपा अध्यक्ष यादवले भन्नुभएको छ –‘ओलीलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र संविधानवादमाथि विश्वास छैन । ओली यसलाई समाप्त पारेर निरङ्कुश र स्वेच्छाचारी शासन चलाउन चाहन्छन् ।’