काठमाडौं –सर्वोच्च अदालतले मन्त्रिपरिषद्का २० जना मन्त्रीको वैधतामा प्रश्न उठाउँदै उनीहरुलाई पदमुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली भावी रणनीति बनाउनतर्फ तल्लीन हुनुभएको छ । आफ्ना पछिल्ला निर्णयहरूमा एकपछि अर्को गर्दै सर्वोच्च अदालतले लगाम लगाउने र विपक्षीहरूको मोर्चाबन्दी थप कसिलो बन्दै गएपछि अप्ठेरोमा पर्नुभएका ओली भावी रणनीति बनाउनतर्फ लाग्नुभएको हो ।

उहाँले हिजो बुधबार दिनभर आफू पक्षीय नेताहरुलाई बालुवाटार बोलाएर अबको दिन कसरी अघि बढ्दा राम्रो हुन्छ भनेर सुझाव माग्नुभएको छ । ओलीले कानुन व्यवसायीहरूसँग पनि आवश्यकता अनुसार छलफल गर्दै अघि बढ्ने तयारी गर्नुभएको छ । ‘आन्तरिक रुपमा प्रधानमन्त्री ओलीले बुधबार दिनभर छलफल गर्नुभएको छ । त्यसमा खासगरी सर्वोच्च अदालतले पछिल्लो पटक विस्तारित मन्त्रिपरिषद्का २० सदस्यहरुलाई जिम्मेवारी मुक्त गरेको अवस्थामा विश्लेषण र सुझावहरु माग्ने काम भएको छ’, ओली निकट एक स्थायी समिति सदस्यका अनुसार, ‘हामीले आफुलाई लागेका सुझावहरु दियौँ ।’

ओलीले हिजो बुधबार पहिलो चरणमा आफ्नो मन्त्रीमण्डलमा रहेर अदालतको आदेशपछि पद गुमाएका मन्त्री र दोस्रो लटमा आफू निकट स्थायी समिति सदस्यहरुसँग सामान्य छलफल गर्नुभएको थियो । त्यसक्रममा ओलीले राजनीतिक मुद्दामा अदालतले अलि बढी हस्तक्षेप गर्न थालेको भन्दै राजनीतिक विषयलाई राजनीतिक तबरबाटै समाधान खोज्नुपर्ने पक्षमा आफु रहेको बताउनुभएको थियो । ‘अदालतको आदेश मान्नुको विकल्प त छैन तर पछिल्ला दिनहरुमा अदालत अलि बढी नै हावी हुन खोजेको हो कि ?’, ओलीले बालुवाटारमा जम्मा भएका नेताहरुसँग प्रश्नको शैलीमा भन्नुभएको थियो, ‘यसले मुलुकको राजनीति गिजोलिने देखियो ।’

ओलीसँगको भेटमा सहभागी नेताहरुले विकसित राजनीतिक घटनाक्रमहरूका बारेमा विश्लेषण गर्दै आगामी दिनमा चाल्नुपर्ने आवश्यक कदम चाल्न ओलीलाई निर्णय गर्न सुझाव दिएका थिए । ‘विकसित परिस्थितिमा पार्टी अध्यक्षले चाल्ने कदमहरू उहाँले नै विश्लेषण गरेर अघि बढ्नुपर्नेमा धेरैको सुझाव रह्यो’, ओली निकट अर्का एक नेताका अनुसार, ‘कतिपय राजनीतिक कुराहरु राजनीतिक ढङ्गले नै टुङ्गिन्छ र टुङ्ग्याउनुपर्छ भन्नेमा अध्यक्ष पनि हुनुहुन्छ ।’

त्यसका लागि नेताहरुले सवैभन्दा पहिला पार्टीका असन्तुष्ट नेताहरूसँगको छलफललाई तीव्रता दिनुपर्ने सुझाव समेत दिनुभएको थियो । ‘समस्या भनेको एमालेको अन्तरविरोधका कारण आएको हो । त्यसैले पहिला यसको समाधान गर्नु उपयुक्त हुन्छ भनेर पनि सुझावहरु आएका छन् । ती नेताले बताए अनुसार, ‘अध्यक्ष ओली र वरिष्ठ नेताबीच प्रत्यक्ष कुराकानी नभएपनि विभिन्न माध्यमबाट भएका कुराकानीका बारेमा समेत छलफल भयो ।’

आफू निकटका नेताहरूसँगको छलफल सकेर ओलीले पार्टी कमिटी बैठक बोलाउने तयारी गरेको नेताहरुले बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आन्तरिक छलफल भइरहेकाले एकदुई दिनपछि पार्टी कमिटीको बैठक बोलाउने तयारी भएको जानकारी दिनुभयो । ‘आजभोलि नै बैठक बोलाउने कि अलि पछि भन्नेमा छलफल भइरहेको छ । सायद भरे भोलितिर टुङ्गो लाग्ला’, तामाङको भनाइ छ ।