काठमाडौं – प्रतिनिधिसभा विघटनमाथि परेको रिट निवेदनमा काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको रिटमा हिजो बुधवार पाँचजना कानुन व्यवसायीहरुले बहस गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले ४ घण्टा बहस गर्नुभयो ।

संवैधानिक इजलासमा हिजो बुधवार गोविन्द शर्मा बन्दीले ४० मिनेट, अधिवक्ता खातीले २० मिनेट, बरिष्ठ अधिवक्ता महादेव यादवले आधा घण्टा, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले १ घण्टा र शम्भु थापाले १ घण्टा ३० मिनेट बहस गर्नुभएको थियो । रिट निवेदकका लागि संवैधानिक इजलासले सुरुवाती बहसका लागी १२ घण्टाको समय दिएको छ ।

सरकार पक्षको बहस सकिएपछि निवेदक पक्षले पुन ः थप ३ घण्टा प्रत्युत्तर लगाउन पाउने गरी सर्वोच्च अदालतको संवैधानिक इजलासले समय तोकेको छ । अब, रिट निवेदक तर्फका कानुन व्यवसायीले ८ घण्टा सुरुवाती बहस गर्न पाउने भएका छन् । संवैधानिक इजलासले भोली शुक्रबार सम्ममा बहस सक्नेगरी तयारी गरिएको एक अधिवक्ताले जानकारी दिनुभएको छ ।

संवैधानिक इजलासमा आज बिहिबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमन कुमार श्रेष्ठ, शेर बहादुर केसी, अधिवक्ता डा. दिनमणी पोखरेल, वरिष्ठ अधिवक्ता तुलसी भट्ट, वोर्णबहादुर कार्की लगायतले बहस गर्दै हुनुहुन्छ । भोली शुक्रबार अधिवक्ता टिकाराम भट्टराई, सुनिल पोखरेल र भिमार्जुन आचार्यले बहस गर्ने हुनुभएको छ ।

देउवाको तर्फबाट २ सय ६९ जना कानुन व्यवसायीले वकालत नाम बुझाएका छन् । वकालतनामा सँगै कानुन व्यवसायीहरुलाई बहस नोटमा पनि हस्ताक्षर गराइएको छ । वकालतनामा बुझाएका कानुन व्यवसायी मध्येबाट इजलासले दिएको समयसिमा भित्र छानिएका कानुन व्यवसायीले बहस गर्ने प्रावधान रहेको छ । सोहि अनुसार कानुन व्यवसायीहरुले इजलासमा बहस गर्नुहुनेछ ।