काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग पार्टी नेतृत्वमा दोहोरिने इच्छासहित सहयोग माग्दै आउनुभएको छ । उहाँले ’पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो । काङ्ग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरुले सहयोग गरिदिनुपर्छ, भनी आग्रह समेत गर्नुभएको हो ।’
पार्टी उपसभापतिको जिम्मेवारी समालिरहनु भएका विमलेन्द्र निधिले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि सभापति देउवा झन्डै ४० वर्ष लामो सम्बन्ध तोड्दै अघि बढ्ने रणनीतिमा देखिनु भएको छ । निधिलाई मात्र होइन, पुरानो टिमलाई एकजुट बनाएर अघि बढाउन निकटहरुको निरन्तरको आग्रहपछि देउवामाथि दबाब परेको छ ।