लुम्बिनी – लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक विपक्षी दलहरूको सहमतिमा बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विद्येयक पेश गर्ने कार्यसूची तोकिएको थियो । आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेका थिए । त्यसपछि बैठक स्थगित भएको थियो ।

विपक्षी दलहरूको सहमतिमै आजको बैठक सारिएको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले जानकारी दिनुभयो । असार २१ गते जसपाका ४ सांसदको बारेमा सर्वोच्चबाट फैसला आइसकेपछि निचोडमा जाने दलहरुबीच सहमति भएपछि बैठक सारिएको थियो । बैठक असार २७ गते १ बजे बस्ने प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।