काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमितको उपचार अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने बताउनुभएको छ ।
उहाँका अनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा मंगलबारसम्ममा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ । सङक्रमितले आफूले निजी अस्पतालमा उपचार गराउन चाहेको खण्डमा भने उपचार गराउन सक्ने छन् । यसरी निजी अस्पतालमा उपचार गराउँदा सरकारले तोकेको भन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्न समेत अनुरोध गरेको छ ।
सरकारले कोभिड–१९ का सङक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई प्रतिदिन ३ हजार ५ सय, मध्यम बिरामीका लागि ७ हजार र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपैयाँ निर्धारण गरेको छ ।– रासस