काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताउनुभएको छ । हिजो मङ्गलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक लगाएको थियो ।

सोही आदेशका सम्बन्धमा फेसबुकमा टिप्पणी गर्दै थापाले सर्वोच्चाले आफ्नै नजिरविपरीत आदेश दिएको उल्लेख गर्नुभएको हो । ’२०७४ असोज र २०७८ असारका बीच सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो ?,’ थापाले ट्वीटरमा लेख्नुभएको छ, ’आफ्नै नजीर र व्याख्याविपरित रहेको हिजोको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको छ । संविधान र कानुनको व्याख्यामा यस्तो परस्परविरोधी अभ्यासले कहाँ पु–याउने होला ?’

प्रचण्डले एक दिनअघि गरेको भाषण र सर्वोच्चले एक दिनपछि आदेश हुबहु मिलेको भन्दै थापाले सेटिङ हो कि के हो भन्दै प्रश्न गर्नुभएको छ । ’प्रचण्डले एकदिनअघि गरेको भाषण र सर्वोच्चको एकदिन पछिको फैसला हुबहु किन मिलेको होला ?,’ थापाको प्रश्न छ, ’यो सेटिङ हो कि के हो ?’

देउवालाई २०७४ मा मन्त्रिपरिषद् विस्तारको अधिकार दिइएको प्रसँग उल्लेख गर्दै थापाले अहिले ओलीलाई चाहिँ छैन ? भन्ने प्रश्न गर्नुभयो । उहाँले मन्त्री बनाउने, बजेट वक्तव्यको संशोधन/सम्पादन वा कुनै बुँदा खारेज गर्ने, कार्यविधि र नियमावली बनाउने अधिकार सर्वोच्चको हो र ? भन्दै प्रश्न गर्नुभएको छ ।