काठमाडौं – जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
उहाँले अब कसैले पनि गल्ती दोहोर्याउन नहुने भन्दै सबैले बेलैमा चेत्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले ट्वीटरमा अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चिरहेको भन्दै अब चाहिँ बेलैमा चेत्नुपर्ने उल्लेख गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री डा.भट्टराईका अनुसार, –‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड–१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौं’, । ‘अब त चेतौं–छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान–लोकतन्त्र ट्र्याकमा ल्याऊ ! अदालत–दलनागरिकले आआफ्नो धर्म निभाऊ ।’