काठमाडौं – उपत्यकाका सडकमा आजदेखि सवारी चाप बढेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्ने निर्णय गरेसँगै आजदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधनसञ्चालनमा आएका हुन् । उक्त बैठकले बार र समय तोकेर विभिन्न पसल सञ्चालन गर्नसमेत अनुमति दिएको छ ।


आज असार ८ गतेदेखि एकसातासम्मका लागि मात्र उक्त आदेश लागू हुनेछ । यसपटक चारपाङ्ग्रे निजी सवारी साधनहरुमा बढीमा चार जना, भाडाको ट्याक्सीमा तीन जना र मोटरसाइकल तथा स्कुटरमा दुई जना सवार हुन सक्ने व्यवस्थासहित जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यकामा आज करिब दुई महिनाको अन्तराल पछि सडकमा सवारी चाप देखिएको छ ।