काठमाडौं — कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ देखि जारी निषेधाज्ञा काठमाडौं उपत्यकामा भोली मङ्गलबारबाट खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिको आइतबारको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो ।

सपिङ मल, फेन्सी, गरगहना पसल, खेलकुद सामग्री, स्टेसनरी, विद्युतीय उपकरण, निर्माण सामग्री, टायल, मार्बल फर्निचरलगायतका व्यापार÷व्यवसाय बारअनुसार तथा चारपांग्रे निजी सवारी र ट्याक्सीलाई जोर–बिजोर एवं सिट संख्या निर्धारण गरेर सञ्चालन गर्न बैठकले अनुमति दिएको हो । यो निर्णयले सटरमा व्यापार व्यवसाय गरेर दैनिक जीविकोपार्जन गर्ने तथा ट्याक्सी चालकलाई राहत मिलेको छ ।

निजी कार्यालय÷संघसंस्थामा काम गर्नेले पनि आफ्नो सवारी प्रयोग गरेर आउजाउ गर्न राहत मिलेको छ । तर खोप व्यवस्था र स्वास्थ्य परीक्षणको दायरा नबढ्दा सङ्क्रमणको जोखिम कम हुनेमा शंका गर्न सकिने भय पनि सरकारी अधिकारीहरूलाई छ । प्रशासनले खुला गरिएका क्षेत्र सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्न भने पनि प्रभावकारी नियमन र अनुशासन पालना नभए संक्रमण रोकथाम र नियन्त्रणमा त्यो प्रत्युत्पादक बन्न सक्ने जोखिम कायमै छ ।

सभा÷सम्मेलन, भौतिक रूपमा उपस्थित भएर गरिने सबै किसिमका पठनपाठन, मन्दिरमा दर्शनार्थी आउजाउ, फुटपाथ पसल, सैलुन, ब्युटीपार्लर, क्लब, जिमखाना, जुलुस, जात्रा, महोत्सव, भोजभतेर, होटल, पार्टी प्यालेस, सिनेमा हललगायत भीड हुने क्षेत्रमा लागेको निषेधाज्ञा भने यथावत् रहनेछ ।

तीनवटै जिल्ला प्रशासनबाट यसअघि विभिन्न वस्तु, सेवा तथा व्यक्तिका सवारीसाधन चलाउन जारी गरिएका पास पनि खारेज गरिएको छ । निजी सवारीसाधनमा जोर–बिजोर र सार्वजनिक ट्याक्सीलाई सिट संख्या तोकेर चलाउन अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्था, सहकारी, रेमिट्यान्सलगायतका क्षेत्रलाई कम जनशक्ति र आलोपालो गरेर निर्बाध रुपमा सञ्चालन गर्न दिइनेछ । शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालय पनि आलोपालो र न्यूनतम जनशक्तिबाट सञ्चालन गर्न पाइनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा यसअघि जारी गरिएको निषेधाज्ञालाई असार १४ सम्म बढाइएको तर आर्थिक गतिविधिसँग सम्बन्धित निश्चित क्षेत्रलाई बार र समय अवधि तोकेर सञ्चालन गर्न दिइने बताउनुभयो । यो आदेश भोली असार ८ गतेबाट मात्रै लागू हुनेछ । वैशाख १६ बाट उपत्यकामा अत्यावश्यक सेवा र तोकिएका क्षेत्रबाहेकमा निषेधाज्ञा छ ।

‘आमनागरिकको दैनिक जीवनयापन र रोजीरोटीसँग जोडिएका, सार्वजनिक प्रशासन र निर्माण क्षेत्रलाई स्वास्थ्यका मापदण्ड पालना गर्दै क्रमशः खुलाउने नीतिअनुसार प्राथमिकता निर्धारण गरेर बार र समयअनुसार सञ्चालन गर्न दिइनेछ,’ प्रजिअ पराजुलीले भने, ‘अरू क्षेत्र पनि जोखिमको विश्लेषण गरेर बिस्तारै खुला गर्न सकिन्छ ।’

बैठकपछि तीनवटै जिल्ला प्रशासनबाट जारी गरिएको आदेशअनुसार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङका पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै सुन पसल, भाँडा, भान्साजन्य सामग्री, विद्युतीय घरायसी सामान, अटोमोबाइल शोरुम÷स्पेयर्स पार्ट्स, मोबाइल तथा कम्प्युटर पसल आइतबार, मंगलबार र बिहीबार ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । हार्डवेयर, बिजुली, सेनिटरी, टायल, मार्बल, फर्निचर, कार्पेटलगायतका पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न सकिनेछ । यसअघिको आदेशमा उल्लेखित खाद्यान्नलगायत दैनिक उपभोग्य भान्साजन्य पसल बिहान ११ बजेसम्म र अत्यावश्यक वस्तुको अनलाइन, टेक–अवे र होम डेलिभरी सेवा बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रावधानलाई निरन्तरता दिइएको छ । निजी चारपाङ्ग्रे सवारीसाधन (कार÷जिप÷भ्यान) मा ४ जनासम्म र ट्याक्सीमा ३ जनासम्म राख्न पाइने छ ।

स्वास्थ्य र उपचारजन्यलगायत केही क्षेत्रलाई निर्बाध र दैनिक उपभोग्य र अत्यावश्यक सेवाको सूचीमा राखिएका अन्य ढुवानीका सवारीलाई राति ८ बजेदेखि बिहान ११ बजेसम्म गुड्न दिइनेछ । सार्वजनिक र निजी निर्माणजन्य सामान बोकेका गाडी राति ९ बजेदेखि बिहान ५ बजेसम्म गुड्न पाउने भएका छन् ।