काठमाडौं – कोरोना भाइरस महामारीले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञामा खुकुलो पार्ने तयारी भैरहेको छ । आज उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने र उक्त बैठकले आर्थिक गतिविधिलाई चलायमान गर्ने गरी केही खुकुलो बनाउने तयारी गर्ने भएको छ । उपत्यकामा निजी सवारी साधनलाई सञ्चालन गर्न के कस्तो मोडालिटी बनाउने भनेर गृहकार्य भैरहेको छ ।

प्रमुख जिल्ला अधिकारीहरुलाई उपत्यकको सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) खाद्यान्न पसलहरु ४ बजेसम्म खोल्न र निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् । आज बसेको डीसीसीएमसीको बैठकले यस्तो सुझाव दिने निर्णय गरेको हो ।

तर प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुले गृह मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग यसबारेमा परामर्श गरेर निर्णय गर्ने जनाएको छ । यद्यपि, निषेधाज्ञालाई कुन मोडालिटी जाने र निषेधाज्ञालाई खुकुलो बनाउने भन्ने बारेमा टुङ्गो लागेको छैन ।

काठमाडौं उपत्यकामो निषेधाज्ञा भोली सोमबारबाट सकिँदैछ । आज साँझ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उक्त बैठकले निषेधाज्ञा थप गर्नुको साथै नयाँ मोडालिटीमा जाने र निषेधाज्ञालाई केही सहजीकरण गर्ने गरी निर्णय गर्नेछ ।