काठमाडौं– नेपाली काङ्ग्रेसको आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति पदको लागि फेरी पनि सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । सभापति देउवाले यस अघि अर्को कार्यकाल पनि सभापतिमा उठ्ने अनौपचारिक रुपमा भनेता पनि औपचारिक घोषणा भने गर्नुभएको थिएन । देउवाले आफु निकट नेताहरुसँग छलफल गरेर औपचारिक रुपमा आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने खुलासा गर्नु भएको हो ।

काङ्ग्रेस भित्र सभापतिको उम्मेदवारका रुपमा रामचन्द्र पौडेल पक्षबाट डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशाङ्क कोइराला, विमलेन्द्र निधि लगायतका आशांक्षीहरु पनि रहेका छन् । पार्टीभित्र देउवा र रामचन्द्र पौडेल पक्षबीच चर्को मतभेद रहँदै आएको छ । सभापति देउवाले पार्टी संठगनमा आफ्नो पकड जमाउँदै आउनु भएको छ । सभापति देउवाले आफु निकट केन्द्रीय सदस्य लगायतका नेताहरुलाई बोलाएर आफू सभापतिमा उठ्ने कुरा अवगत गराउँदै सहयोगको लागि याचना गर्नुभएको छ । सभापति देउवाले हिजो आफ्नो निवास बूढानीलकण्ठमा प्रदेश १ र २ का नेताहरुलाई बोलाएर छलफल गरेपछि उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट आगामी महाधिवेशनमा सभापति पदको लागि कसैले पनि आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्ने गर्नुभएको छैन । यद्यपि, लामो समयदेखि सभापति देउवालाई साथ दिंदै आएका उपसभापति समेत रहेका विमलेन्द्र निधिले आफु सभापतिमा उठ्ने कुरा स्वयम् देउवालाई जानकारी गराइसकेका छन् ।

यसअघि १३ औं महाधिवेशनमा देउवाले विमलेन्द्र निधिलाई १४ औं महाधिवेशनमा सभापति पदमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सोहीे प्रतिबद्धता अनुसार निधिले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । तर देउवा निधिलाई सहयोग गर्ने मनस्थितिमा नरहेको बुढानिलकण्ठ स्रोतको भनाइ छ । हिजो भएको छलफलमा उपसभापति निधिले सभापति देउवालाई आगामी महाधिवेशनमा सहयोग गर्न नसक्ने धारणा व्यक्त गर्नुभएको थियो ।

यदि सभापति पदमा स्वयम देउवा र निधिले नछाडेको अवस्थामा संस्थापन पक्षबाटै सभापतिका दुई जना उम्मेद्वार भिड्ने हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारलाई जितको लागि सहज सहज हुनपनि सक्दछ । नेता पौडेल समूहमा पनि सभापतिका लागि आङ्काक्षीहरु धेरै नै छन् । उक्त समूहबाट आधिकारिक रुपमा कसैले पनि अहिलेसम्म सभापति पदमा उम्मेदवारी दिने घोषणाभने गरेका छैनन् । तरपनि रामचन्द्र पक्षबाट स्वयम वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि सभापतिका आङ्काक्षी हुन् । त्यसो त युवा नेता गगन थापा पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बलियो सम्भावना छ ।